काठमाडौंमा निषेधाज्ञा : किराना पसल खोल्न नपाइने, सरकारी गाडीलाई पनि सञ्चालनमा रोक
जारी भएका सबै पास खारेज गर्ने निर्णय
काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईका अनुसार थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन ।तरकारी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने तर अन्य पसलहरु बन्द हुनेछन् ।
यस्तै सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । निर्माणका कार्यलाई पनि प्रशासनले एक साताका लागि रोक लगाउने निर्णय गरेको छ । विवाहमा ७ जना मात्र जम्मा हुन पाउने भनिएको छ । साथै, हालसम्म प्रशासन र अन्य निकायबाट जारी सबै पास पनि खारेज गर्ने निर्णय भएको छ ।
यस्तै निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारीसाधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो ।