संसद विघटनविरुद्धको रिटमा बिहीबार र शुक्रबार पेशी तोकियो

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ । त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ । यस्तै सांसदले सोझै संवैधानिक इजलासमा निवेदन दिएकाले उनीहरुको निवेदनमाथि शुक्रबार सुनुवाइ हुनेछ ।

प्रतिनिधि सभा पुनर्स्थापना र पुनर्स्थापना भएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिनुपर्ने माग गरिएका चार सहित जम्मा ३० रिट सर्वोच्चमा परेको उनले जानकारी दिए ।

पाँच राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनालगायत चार वटा माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । रिटमा जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीसामु पेश गरिएको हस्ताक्षरको आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन् । निवेदनमा प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार