पूर्वसभामुखहरुको एउटै स्वर: संसद विघटन असंवैधानिकका साथ जनमतको अपमान
अध्यादेशबाट बजेट ल्याउनुपर्छ भन्ने अवस्था नरहेको जिकिर
पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन जनताप्रति उत्तरदायी कदम नभएको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भएको र यो पूर्णतः असंवैधानिकका साथै जनताप्रति उत्तरदायी कदम नभएको बताएका हुन् ।
पूर्व सभामुखहरूले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दालाई प्राथमिकताका साथ छिटो टुङ्गोमा पु-याउनुपर्ने समेत धारणा राखेका छन् । बैठकपछि काँग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले अहिले मुलुक कोरोना महामारी र राजनीतिक रूपमा सङ्कटमा रहेका बेला प्रतिनिधिसभा विघटन हुनु दुर्भाग्य भएको बताए । उनले सबै विवादको समाधान सांसदबाटै खोज्नुपर्ने बेला अदालत जानुपरेको जिकिर गरे । पौडेलले सदनबाटै राजनीतिक निकास आउनुपर्ने र जनताको अस्तित्व सदनमाथि कसैले खेलबाड गर्न नहुने निष्कर्ष निकालिएको जानकारी दिए । उनले अहिलेको अवस्था चुनाव गर्नु भनेको जनतामाथि विपत्ति बर्साउने विषय भएको तर्क गरेका छन् । उनले अहिले सदन नरहेको अवस्थामा अध्यादेशबाट ज्येष्ठ १५ गते नै बजेट ल्याउनुपर्छ भन्ने अवस्था नरहेको जिकिर गरे ।
त्यस्तै पूर्व सभामुख ओनसरी घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको जानकारी दिइन् । उनले अहिलेको विषम परिस्थितिमा सङ्कटको निकास र सभामुखको भूमिका के हुनसक्छ भनेर छलफल भएको बताएकी छन् । घर्तीले प्रतिनिधिसभा विघटन असंवैधानिक र जनमतलाई अपमान गर्ने किसिमले भएको जिकिर गरिन् ।
छलफलका क्रममा सभामुख सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार हुने बताएका थिए । सभामुख सापकोटाले आयोजना गरेको छलफलमा ४ जना पूर्व सभामुख सहभागी भएका थिए भने पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ भने बैठकमा सहभागी भएनन् ।
फेसबुकबाट प्रतिक्रिया