ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आएको छ : माधव नेपाल

ओलीले एमाले तहसनहस गर्ने अभियान पूरा गरेको आरोप

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको बताएका छन् ।

मंगलबार प्रेस वक्तव्य जारी गर्दै नेता नेपालले केपी ओलीले नेपाली जनता, निष्ठावान नेता–कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिस्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेको भन्दै प्रतिरोधमा उत्रिने अवस्था बनेको बताए ।

नेता नेपालले ओली सरकारको सर्वसत्तावाद र निरंकुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न नेपाली जनतालाई अपिल गरेका छन् । युगले सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबद्ध गर्ने अभिभारा आफूहरूलाई सुम्पिएको भन्दै नेता नेपालले केपी ओलीको गद्दारीको प्रतिरोधमा उत्रिन आग्रह गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्काशन गर्ने निर्णय अर्थहीन भएको पनि टिप्पणी गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको उनले आरोप लगाएका छन् । केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरुपयोग गरेको बताएका छन् । कम्युनिष्ट सरकार रहेका वेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने, तर सर्वहारा वर्ग र आमनेपाली जनता अपहेलित हुने अवस्था आउनु दुःखद पक्ष भएको नेपालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार