अनुदानको अक्सिजन सिलिण्डरमा वनमन्त्रीको तस्बिर

सोसल मिडियामा बन्यो भाइरल

वन तथा वातावरणमन्त्री प्रेम आलेले चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर गृहजिल्ला डोटीमा वितरण गरेका छन् ।

गत बैशाख २१ गते चीनले नेपालमा निलो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री आलेले त्यसमा व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश जाने गरी स्टिकर टाँसेर आफ्नो चुनाव क्षेत्रमा पठाएका हुन् । अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

मन्त्री आलेले गृहजिल्ला डोटीमा हेलिकोप्टरमार्फत नै पुगेर कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण गरेका थिए । जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि स्वास्थ सामाग्री उनले वितरण गरेका हुन् ।

मन्त्री आलेले अनुदानमा चीनबाट ल्याइएको अक्सिजन सिलिण्डरमा पनि व्यक्तिगत लगानी भनेर पोस्टर टाँसेका स्वास्थ्य सामग्री अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । मन्त्री आलेले डोटीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधिका प्याकेटमा पनि आफ्नो तस्बिर टाँसेका छन् ।

उनले चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आफ्नै तस्बिर टाँसेका हुन् । स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डरमा मन्त्री आलेले टाँसेको स्टिकरमा– ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार