महाकाली अस्पतालको सघन उपचारकक्षमा शय्या अभाव

महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसीयू)मा शय्या अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शय्या अभाव भएको हो ।

अस्पतालको सघन उपचारकक्षमा हाल छवटा शय्या मात्रै रहेका छन् । बिरामीको चापलाई मध्यनजर गर्दै त्यसलाई बढाएर १५ पु¥याउनुपर्ने अवस्था देखिएको छ ।

कोरानाको दोस्रो लहर फैलिएपछि अस्पतालको सघन उपचारकक्षका शय्या बिरामीले भरिएका हुन् । सघन उपचारकक्षसहित आइसोलेशन गरी सङ्क्रमितका लागि ९२ शय्या छन्, ती सबै भरिएका छन् ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले कोरोनाका गम्भीर अवस्थाका बिरामीका कारण आइसीयू कक्षमा शय्या बढाउनुपर्ने बाध्यता आएको बताए । “अहिले छ शय्या छन्, ती सबै भरिएका छन् । गम्भीर अवस्थाका बिरामीलाई आइसीयूमा भर्ना नगरी नहुने बाध्यता छ”, उनले भने, “डिस्चार्ज नभई आएकालाई भर्ना गर्न नसकिने भयो, त्यसैले शय्या थप्नुपर्ने अवस्था छ ।”

आइसीयूकक्षमा तत्काललाई १५ शय्या थप्नुपर्ने अवस्था देखिएको अध्यक्ष जोशीले बताए । “बिरामी सङ्ख्या हेर्दा त २५ शय्या थपेर पनि नहुने जस्तो छ”, उनले भने, “तत्काललाई १५ शय्या थप्नुपर्ने छ ।” आइसीयू कक्षमा शय्या थप्नका लागि अस्पतालका पदाधिकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेका छन् ।

अस्पतालले आइसीयूमा शय्या थप र एचडीयू सञ्चालनका लागि मन्त्रालयबाट सकारात्मक आश्वासन पाएको छ । आइसीयू कक्षका लागि अस्पतालमा अहिले १८ भेन्टिलेटर छन् । मन्त्रालयबाट पछिल्लोपटक मात्रै पाँच भेन्टिलेटर आएका हुन् । त्यसअघि १३ भेन्टिलेटर आएका थिए । अस्पतालले आइसीयूसँगै एचडीयू सञ्चालनका लागि पनि पहल अघि बढाएको छ ।

चिकित्सकसहितको जनशक्ति नभएर एचडीयू सञ्चालन रोकिएको छ । अस्पतालमा २५ शय्याको एचडीयू कक्ष बनाइएको छ । भेन्टिलेटरबाहेक अन्य मोनिटरलगायतका सबै उपकरण जडान गरिएका छन् ।

“मोनिटरलगायतका सबै उपकरण जडान गरिएको छ । शय्या छन् । भेन्टिलेटर जडान हुन बाँकी छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले भने, “जनशक्ति नभएर सञ्चालन हुनसकेको छैन ।” एचडीयू सञ्चालनका लागि पाँच चिकित्सकसहितका ३५ स्वास्थ्यकर्मी चाहिने उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार