एमालेका माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण माग्दै पत्र

चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कारबाही गरिने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्दै नेकपा एमालेले सोमबार पत्र पठाएको छ ।शनिबार बालुटारमा भएको केन्द्रिय कमिटी बैठकको निर्णयअनुसार चारैजना नेतालाई स्पष्टिकरण माग गरिएको उल्लेख छ । शनिबारको बैठकमा पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

सोमबार महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र नेताहरुलाई पठाइएको हो । वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य पाण्डेले पत्र बुझे पनि उपाध्यक्ष रावल र उपमहासचिव भुसालले भने बुझिसकेका छैनन् । वरिष्ठ नेता नेपालको पत्र उनकै स्वकीय सचिव नितेज पौडेल र स्थायी कमिटी सदस्य पाण्डेलाई पठाइएको पत्र स्वकीय सचिव सञ्जीव पाण्डेले बुझेका हुन् ।

महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही गरिने निर्णय पनि बैठकले गरेको थियो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले चारजना नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार