परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन संवाद

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमनबीच सोमबार टेलिफोन संवाद भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्ध सहकार्य र साझा अन्तर्राष्ट्रिय मुद्दाका विषयमा कुराकानी भएको थियो । मन्त्री ज्ञवालीले कोभिड–१९ मा अमेरिकाले देखाएको सद्भावपूर्ण सहकार्यलाई लिएर धन्यवाद व्यक्त गरेका थिए ।

ज्ञवालीले विश्वव्यापी महामारीविरुद्धको सहकार्यमा अमेरिकी नेतृत्वको प्रशंसा गरे । उनले उपविदेशमन्त्री सेरमनलाई विकासोन्मुख मुलुकलाई खोप वितरण गर्दा नेपाललाई पनि उत्तिकै प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । नेपालको आग्रहमा अमेरिका सकारात्मक रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । संवादका क्रममा सेर्मनले कोभिड महामारीविरुद्ध तथा अन्य सामाजिक(आर्थिक पक्षमा नेपाललाई बाइडेन प्रशासनले सघाउने बचन दिएकी छन् ।

महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेकोमा मन्त्री ज्ञवालीले अमेरिकालाई धन्यवाद समेत दिएका थिए । उपविदेशमन्त्री सेर्मनले पाइपलाइनमा रहेका अमेरिकी परियोजनाको कार्यान्वयनले दुई मुलुकबीचको मित्रतापूर्ण सम्बन्ध अझ गाढा हुने समेत बताएकी थिइन् ।

दुई पक्षबीच जलवायु परिवर्तनको विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूबीच नेपालले आउँदो अक्टोबरमा गर्ने तय गरेको सगरमाथा संवादको विषयमा पनि कुराकानी भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार