नागरिकता प्राप्तिको गाठो अध्यादेशले यसरी फुकायो

जन्मसिद्धका सन्तानले पनि अब वंशजको नागरिकता सहज रुपमा पाउने भएका छन् । सरकारले नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरेपछि बालिग भएका जन्मसिद्धका सन्तानले सहज रुपमा वंशजको नागरिकता पाउने भएका हुन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति विद्या भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) को माग सम्बोधन गर्ने क्रममा सरकारले यो अध्यादेश जारी गरेको जस्तो देखिए पनि यो व्यवस्थाबाट नागरिकताबाट बञ्चित हजारौं नेपाली लाभान्वित हुनेछन् ।

नेपालको संविधान जारी हुँदा पनि संविधान जारी भएको मितिसम्म जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तान बालिग भएपछि वंशजको नागरिकता दिने व्यवस्था थियो । तर ऐन बन्‍न नसक्दा यो कार्यान्वयन हुन सकेको थिएन । संविधानको व्यवस्थाअनुसार ऐन नआउँदा नागरिकताका लागि परेको करिव ३५ हजार बढी निवेदन गृहमन्त्रालयमा थन्किएका छन् ।

यससम्बन्धी विधेयक लामो समयदेखि संसद्मा अल्झिएको थियो । सर्वोच्च अदालतले समेत संविधानको यो व्यवस्थालाई ऐन बनाएर कार्यान्वयनमा ल्याउन निर्देशन दिइसकेको थियो। तत्काल संसद्बाट पारित हुने अवस्था नभएपछि अध्यादेश ल्याएर सरकारले नागरिकता प्राप्तिको कानुनी जटिलता फुकाएको हो । यसअघि अन्तरिम संविधान २०६३ जारी हुनुअघिको मितिसम्म कायम रहेका जन्मसिद्धका सन्तानलाई पनि वंशजको नागरिकता दिइएको थियो ।

आइतबार जारी गरिएको अध्यादेशमा भनिएको छ, ‘संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार