प्रधानमन्त्रीमा कसलाई अघि सारेर चुनावमा जान्छ गठबन्धन ?

'निर्णायक गोल गर्ने प्रचण्डको दाउ, ज्योतिषको भरोसामा देउवा'

काठमाडाैँ- नेकपा (एमाले)ले आउँदो सङ्घीय संसद्को चुनाव जितेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भन्दै अघि बढे तापनि सत्तारुढ गठबन्धनले भने अहिलेसम्म कसैलाई भावी प्रधानमन्त्री तोकेको छैन।

नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका पुष्पकमल दाहाल दुवैले प्रधानमन्त्री बन्ने आकाङ्क्षा बोकेको नेताहरू ठान्छन्।

काङ्ग्रेसभित्र महामन्त्री गगन थापा समेतले यसै निर्वाचनमा प्रधानमन्त्रीमा दाबी गर्ने गरी अघि बढ्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन्।

तर काङ्ग्रेस प्रवक्ता प्रकाशशरण महत काङ्ग्रेसभित्र को प्रधानमन्त्री बन्ने भन्ने कुरामा ‘ठूलो विवाद’ नभएको बताउँछन्।’ूसभापतिले स्थानीय चुनावमा सफलतापूर्वक नेतृत्व गर्नुभयो र यो चुनावमा पनि पार्टी वहाँकै नेतृत्वमा जाने निश्चित हो,’ उनी भन्छन्।

केपी ओली भावी प्रधानमन्त्रीका रूपमा अगाडि आउनु ुएमाले पार्टीको संरचनाका हिसाबले अनपेक्षितु नरहेको प्रवक्ता महत बताउँछन्।

‘ओलीले प्रधानमन्त्री बन्ने भन्दैमा हामी आत्तिनुपर्ने केही छैन। वहाँले अवसर पाउँदा समेत असफलता प्रस्तुत गर्नु भएकाले घोषणा गर्दैमा जनमत त्यहाँ जाँदैन,’ महत ठान्छन्।

‘चुनावअघि हामीले पनि भावी प्रधानमन्त्री घोषणा गर्नै पर्ने बाध्यात्मक अवस्था छैन। यसबारे कुरा भएको छैन।’

पछिल्ला दिनमा नेकपा(माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत ‘पुनः एक पटक देशको नेतृत्व गर्ने चाहना’ रहेको सार्वजनिक रूपमा बताउँदै आएका छन्।

प्रचण्डले त्यसरी इच्छा व्यक्त गरे पनि ‘कुन प्रक्रिया र कसरी’ भन्ने गठबन्धन दलबीच प्रस्टता नभइसकेको माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल बताउँछन्।

‘दलहरूबीच त्यसबारे स्पष्ट कुरा हुनुपर्छ। अन्यथा अनावश्यक विवाद सिर्जना हुन जान्छ,’ गजुरेल भन्छन् ‘तर प्रधानमन्त्रीमा ओलीलाई अगाडि सारिएकै हुनाले गठबन्धनलाई दबाव पर्दैन। वहाँको जनमानसमा अब कुनै क्रेज बाँकी छैन। अर्को कोही अनुहार आएको भए केही दबाव हुन सक्थ्यो।’

गजुरेलले सत्ता गठबन्धनबाट तेस्रो दल वा व्यक्ति प्रधानमन्त्रीमा बन्ने सम्भावना आफूले नदेखेको बताउँछन्।

‘प्रधानमन्त्री बन्नलाई कम्तीमा एउटा बलियो पार्टी चाहियो, सीट जित्नपर्‍यो। स्थानीय तहको चुनावको नतिजा पनि हेर्नुपर्‍यो,’ उनले कुनै पार्टीको नाम नतोकीकन, ‘मलाई लाग्दैन संसद्ले चुन्ने प्रणाली रहेसम्म कसैले बिनाआधार प्रधानमन्त्रीका रूपमा आफूलाई अगाडि सार्छ।’

तर गठबन्धनमा काङ्ग्रेसले दाबी धेरै सिटमा भइरहेको भन्दै खासगरी माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरूले असन्तुष्टि पोखिरहेका छन्।

एमाले र माओवादी केन्द्रका नेताहरूले एक अर्कालाई ुवामपन्थी नरहेकोु आरोप लगाए पनि दुवैतर्फ वाम गठबन्धनको चर्चा समेत सेलाएको छैन।

त्यसरी फरक गठबन्धन भएको अवस्थामा काङ्ग्रेसलाई घाटा पर्ने भन्दै सत्ता गठबन्धनभित्र समेत छलफलको क्रम जारी छ।  विगतमा कसैले बहुमत ल्याउन नसक्ने अवस्थामा नेपालमा ठूला दुई दलबाहेकका नेताहरू पनि प्रधानमन्त्री बनेका छन्।भदौ १५ सम्ममा सत्ता गठबन्धनमा सीट बाँडफाँडको टुङ्गो लगाउने नेताहरूको आशा छ।

सत्ता गठबन्धनभित्रै स्थानीय चुनावमा देखिएको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न चुनावअघि नै भावी प्रधानमन्त्री घोषणा गर्नु महत्त्वपूर्ण हुने आवाज सानै स्वरमा भए पनि उठिरहेको बताइन्छ।

तर यसबेला गठबन्धनको राप र ताप एवं शीर्ष नेताहरूको बलमिचाइले गर्दा भावी प्रधानमन्त्रीको कुरा ओझेलमा परेको काङ्ग्रेस निकट टिप्पणीकार शङ्कर तिवारी बताउँछन्।

काङ्ग्रेस स्वयंले त्यसबारे बहस सुरु नगरेको र अबका केन्द्रीय समिति बैठक समेत आफूहरूले पाउने सीटमा केन्द्रित हुने देखिएको उनी ठान्छन्।

नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाले पछिल्लोपटक एक टेलिभिजन कार्यक्रममा यसैपटक आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताएका थिए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत उनलाई साथ दिने बताउँदै आएका छन्। तर पार्टीको पछिल्ला केन्द्रीय समिति बैठकमा स्वयं थापासहित उनी र अन्य केन्द्रीय सदस्यहरू यसबारे मौन देखिन्छन्।

‘चुनावमा टिकट कसरी बाँडिन्छ भन्ने पछिल्लो चुनावमा देखिइसकियो। अझै पनि अधिकारहरू सबै सभापतिलाई एकल रूपमा दिइएको छ,’ तिवारी भन्छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार