जसपा विवाद: उपेन्द्र पक्षको कार्यकारिणी बैठकको निर्णय मान्य नहुने महन्थ पक्षको भनाई

महन्थ पक्षका नेताहरुलाई बैठकबाटै धमाधम कारबाही गर्दै उपेन्द्र पक्ष

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले गरेको निर्णय मान्य नहुने जनाएको छ ।

आइतबार काठमाडौंमा बसेको महन्थ पक्षका नेताहरुको बैठकले कोरोना महामारीका कारण स्थगित गरिएको बैठक अर्को पक्षले एकलौटी ढंगले बोलाएको भन्दै उक्त बैठकले गरेको निर्णय मान्य नहुने निर्णय गरेको हो । त्यस्तै पार्टीले गरेको निर्णय विपरित बैठक बसेको भन्दै कारवाही गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । बैठकपछि जसपा नेता सुरेन्द्र झाले जेठ ८ र ९ गतेका लागि तय भएको जसपाको कार्यकारिणी समितिको बैठक कोरोना महामारीमा कारण स्थगित गरिएका बेला अर्को पक्षको कार्यकारिणी बैठक बस्नु उचित नभएको बताए । उनले यादव पक्षले पार्टीका नेताहरुलाई कारवाही गर्ने निर्णय गर्नु हास्यास्पद रहेको धारणा राखेका छन् । झाले पार्टी विपरित जानेलाई कारवाही हुने पनि बताएका छन् ।

यता काठमाडौंमा दुई दिनसम्म चलेको उपेन्द्र यादव पक्षको केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । बैठकले पार्टी हित विपरीत कार्य गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने पनि निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ुप्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट गरिएको छ ।ु

कार्यकारिणी समितिले अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ भने पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार