विपक्षी गठबन्धनले भोलि बिहान १० बजे सर्वोच्चमा रिट दिने

विपक्षी दलहरुको गठबन्धनले प्रतिनिधि सभा विघटनविरुद्ध सोमबार सर्वोच्चमा रिट दिने भएका छन् ।

आज रिट दिने तयारी गरे पनि सांसदहरूको हस्ताक्षर संकलन गर्ने काम नसकिएकोले भोलि बिहान १० बजे सर्वोच्चमा रिट दिइने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

तर उनले सबै सांसदको हस्ताक्षर गरिएको र बहुमत पुगिसकेको दाबी भने गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी ५ दलको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।

ती दलका सांसदहरूसहित शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, दुर्गा पौडेल लगायत नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार भेला भए । दलहरूले छुट्टाछुट्टै रूपमा हस्ताक्षर संकलन र नागरिकताको फोटोकपी संकलन गरेर संयुक्त रूपमा नयाँ बानेश्वरमा जम्मा भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार