प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न सिंहदरबारमा हस्ताक्षर संकलन सुरु

सांसदहरु भौतिक रूपमा अदालतमा उपस्थित हुने

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनका ५ दलले हस्ताक्षर संकलन सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ ।

सांसदको तर्फबाट दायर हुन लागेको रिटमा हस्ताक्षर गरेर सबैजना भौतिक रूपमा अदालतमा उपस्थित हुने बताइएको छ। सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित सिंहदरबारमा उपस्थित भएका छन् ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्। प्रधानमन्त्रीले असंवैधानिक ढंगले संसद विघटन गरेकाले सर्वोच्चले संसद पुनःस्थापना गर्ने विपक्षी गठबन्धनको विश्वास छ ।

शनिबार बसेको विपक्षी ५ दलले प्रतिनिधि सभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका थिए। शुक्रबार राति सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन्।  वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै उक्त निर्णय गरिएको भन्दै दलहरूले विरोध गरिरहेका छन्।

राष्ट्रपतिले दिएको २१ घण्टाको समयभित्रै काँग्रेस सभापति देउवाले १४९ जना सांसदको बहुमत जुटाएर दाबी पेस गरेका थिए । सोही समयमा प्रधानमन्त्री केपी ओलीले पनि आफूसँग १५३ जना सांसद आफ्नो पक्षमा देखाएर सरकार गठनको दाबी पेस गरेका थिए ।

तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार