माधव नेपाल पक्षका युवा नेता राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

नेकपा एमालेका युवा नेताहरुले निर्वाचन आयोगमा राजनीतिक दल दर्ताको निवेदन दिएका छन् ।

युवा नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । २५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद कुमार खुलाल, सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशीला खनाल रहेका छन् ।

दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको आयेगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको छ । पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।’

संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन् । महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट राजनीति गरेका हुन् । उनी २०६५ सालको स्ववियु चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए ।

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार