सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान

सिद्धार्थ राजमार्गको बुटवल-दोभान सडक खण्डमा सुरूङ मार्ग बनाउन सरकारले टेन्डर आह्वान गरेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले ४५ दिनको समय सीमा तोकेर सूचना प्रकाशित गर्दै टेन्डर आह्वान गरेको हो । गत मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै सहमति प्रदान गरेको थियो । टेण्डर आह्वानसँगै सुरुङ मार्ग निर्माणले मूर्तरूप पाउने आशा गरिएको छ । एउटा डबल लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्गको सडक निर्माणका लागि मन्त्रालयले ग्लोबल टेण्डर आह्वान गरेको हो ।

मन्त्रालयअन्तर्गतको सडक विभागका प्रवक्ता ई. शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको बताउँदै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरुलाई बोलपत्र आह्वान गरिएको जानकारी दिए ।

पहिरोको उच्च जोखिमको क्षेत्र रहेकाले सिद्धबाबा सडकमा लामो समयसम्म सुरुङमार्ग निर्माण गर्ने चर्चा चलेको भएपनि पहिरो न्यूनिकरणका अन्य सम्भाव्यताहरुको समेत अध्ययन भइरहेकाले सुरु भएको थिएन । तर अवभने निर्माण प्रक्रियाको औपचारिक थालनी भएको मन्त्रालयले जनाएको छ । सुरुङमार्ग निर्माण गर्न कम्तिमा ८ अर्ब रुपैयाँ लाग्ने स्वीस अध्ययनले देखाएको थियो । निर्माण सम्पन्न गर्नेबेलासम्म यसको लागत थप बढ्ने अनुमान गरिएको छ । सोही अनुसार नै टेण्डर आह्वान गरिएको सडक विभागका प्रवक्ता नेपालले जानकारी दिए ।

भारत सरकारको सहयोगमा झण्डै आधा शताब्दी अघि निर्माणकार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त सडक हो । अहिले सुरुङमार्ग बाहेक एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतीको काम पनि भइरहेको छ । त्यस्तै सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नती गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार