जसपा बैठक: ठाकुर–महतोसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

राजेन्द्र महतोको दलको नेताको पद अस्वीकृत

जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवसहित शनिवार साँझ सोह्रखुट्टेको नेपाः ब्यांक्वेटमा बसेको बैठकले चार जना नेताहरूले पार्टीको विधानविरुद्ध गतिविधि गरेको निष्कर्ष निकालेको थियो । ठाकुर–महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेको थियो । त्यस्तै ओलीको कदमलाई साथ दिँदै गठबन्धन गर्ने तयारीसमेत गरिरहेको छ ।

बैठकले संसदीय दलको नेताका रूपमा राजेन्द्र महतोलाई गरिएको घोषणा अस्वीकृत गर्ने निर्णय गरेको छ । पार्टीको विधानविपरीत फर्जी तरिकाले अध्यक्ष महन्थ ठाकुरले महतोलाई संसदीय दलमा चयन गरेको भन्दै बैठकले सो निर्णय नमान्ने घोषणा गरेको हो ।

यसअघि अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवबीच भएको छलफलमा पनि राजेन्द्र महतोको सो पदलाई खारेज गर्ने निर्णय भएको थियो । तर अध्यक्ष ठाकुरले अझै त्यसलाई निरन्तरता दिएकोप्रति बैठकमा आपत्ति जनाइएको थियो । जसपा नेता रामसहायप्रसाद यादवका अनुसार शनिबारको बैठकमा भौतिक रूपमा २८ र भाइबरसमेतबाट जोडिएका गरी कुल ३२ जनाको बैठक बसेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार