कोरोना संक्रमण उपत्यकामा स्थिर,बाहिर बढ्दो

एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ । दुई साता अघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए । उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन् ।

एक सातायता संक्रमणको चक्र उपत्यका बाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ । दुई साता अघिसम्म वाग्मती, लुम्बिनी र गण्डकीमा तीव्र रूपमा फैलिएको संक्रमण अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा बढ्दो क्रममा छ । त्यसैगरी सहरमा घरपरिवारभित्रै र गाउँमा समुदायमै कोरोना संक्रमण फैलिने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार