निर्वाचनमा पार्टीबाट मुख्य दुई प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने
'उम्मेद्वारले बैंक खाता खोल्नुपर्ने, चुनावी खर्चका लागि व्यक्ति तोक्नुपर्ने'
काठमाडौँ– आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभाको उम्मेदवारले चुनावी खर्चका लागि पदाधिकारी तोक्नुपर्ने भएको छ ।
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता अनुसार प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरेको छ ।
यस्तै निर्वाचनमा खर्च गर्ने रकम राख्न बैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्ने प्रस्ताव पनि आयोगले गरेको छ । यस्तै २५ हजारभन्दा बढी आर्थिक सहयोग बैंक खातामार्फत लिनुपर्ने प्रस्ताव पनि आयोगले गरेको छ ।
‘२५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत प्राप्त गर्नुपर्नेछ’, प्रस्तावित आचारसंहितामा उल्लेख छ,‘व्यक्ति वा संस्थाबाट चन्दाको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाइ दिई उम्मेदवार वा दलको खातामा जम्मा गर्नुपर्नेछ ।’
यस्तै निर्वाचनका लागि प्रत्येक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहितामा त्यस्तो व्यवस्था गरेको हो । उक्त आचारसंहितामाथि आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग सोमबार छलफल पनि गरेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ मा आयोगले सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने आचरण अन्तर्गत कसले हेलिकोप्टर प्रयोग गर्न पाउने र कसले नपाउने भन्ने उल्लेख गरेको छ ।
निर्वाचन प्रचारका क्रममा उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सुवारी साधान र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने आचारसंहितामा उल्लेख छ ।