काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकअघि प्रचण्ड र नेपालबीच हात्तिवनस्थित एक अपार्टमेन्टमा भेटवार्ता भएको हो । बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् ।
माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत भेटवार्तामा सहभागी थिए । गठबन्धनका शीर्ष नेताबीच दिउँसो ३ बजे छलफलका लागि समय निर्धारण भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
साथै भेटवार्तामा गठबन्धनमा आफ्नो पार्टीले दावी गर्ने सिट र चुनाव लड्ने नेताहरुका बारेमा कुराकानी भएको बुझिएको छ । साथै वाम एकताका लागि एकता संयोजन समिति बनाउने विषयमा समेत नेताहरुबीच कुराकानी भएको बुझिएको छ ।
निर्वाचनका लागि सिट बाँडफाँट र तालमेलको मोडालिटी तय गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलले भदौ पहिलो साता प्रतिवेदन तयार गरेर शीर्ष नेतालाई बुझाउने भनेपनि सहमति जुट्न नसक्दा सिट बाँडफाँट पेचिलो बन्दै आएको छ ।