राष्ट्रपतिलाई तिमी भनेको भन्दै ओलीले भने – तपाईं भन्‍ने सभ्यता कांग्रेसमा रहेन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए । ओलीले जसले लोकतन्त्र मान्दैन, उनीहरुले आफूलाई लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेको बताए ।

‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ,’ ओलीले भने ।

अहिले असभ्य तरिकाले बोल्नु, अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्ने गरेको उनले सुनाए । एमाले अध्यक्ष समेत रहेका ओलीले अघि भने, ‘अरु त चलेकै थियो । नेपाली कांग्रेसका सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको व्यापकता कहाँसम्मु पुगेछ भन्ने चाहिँ अचम्म लाग्यो ।’

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि उक्त कदमको विरोध गर्दै सभापति देउवाले शनिबार विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा देउवाले राष्ट्रपतिलाई तिमी भन्ने भाषा प्रयोग गरेका छन् । सोही विषयलाई लिएर प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन् । राष्ट्रपतिमाथि त्यस्तो भाषा बोलिएको भन्दै ओलीले देशलाई अराजकतातिर लान खोजिरहेको आरोप लगाए ।

‘अचम्म लाग्छ मलाई जसले लोकतन्त्र मान्दैन, लोकतान्त्रिक आचरण मान्दैन उनीहरु लोकतन्त्रका हिमायती भएर मयूरका प्वाँख जोडेर मयूर भएको नक्कल गर्दै स्वाङ पार्दैछन्,’ उनले भने, ‘आदर्शका नक्कली कुरा गर्दै हिँड्ने । देशलाई अराजकता, असभ्यतातिर लान खोजिरहेका छन् । भाषाको हिसाबले, गालीगजौज तथानाम बोलेका छन् ।’

जनताका छोराछोरी सम्मानित पदमा पुगे सम्मान गर्न हुँदैन भन्ने सोच रहेको ओलीको टिप्पणी छ । प्रधानमन्त्री ओलीले सानालाई स्नेह गर्ने र ठूलालाई आदर सम्मान गर्ने नेपालीको मर्यादा भएको बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार