निर्वाचन बिथोलिए सह्य नहुने आयोगको चेतावनी

Image

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा अभावमा कुनैपनि निर्वाचन क्षेत्र, बुथमा निर्वाचन बिथोलिए सह्य नहुने चेतावनी दिएका छन् ।

निर्वाचन आयोगले ललितपुरमा आइतबार गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले चुनावी मिति सिफारिसताका नै निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति खोजेको र सुरक्षाको पूर्ण जिम्मेवारी सरकारको भएको भन्दै निर्वाचन सुरक्षा बल नभई मनोबलले गर्ने विषय भएको जिकिर गरे ।

उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनैपनि निर्वाचन क्षेत्रमा पुनःमतदान गर्नुपर्ने अवस्था आउन नदिने गरी तयारी गर्न सरकारको ध्यानाकर्षण गरे ।

प्रमुख आयुक्त थपलियाले चुनावमा उम्मेदवारले खर्चको विषयलाई अतिरञ्जित गरेर दलीय व्यवस्थाविरुद्ध भ्रम सृजना गर्ने काम भइरहेको जिकिर गर्दै यो लोकतन्त्रको निम्ति पाच्य नहुने टिप्पणी गरे ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति घोषणा आकस्मिक नभई नियमित भएपनि तयारीको लागि पर्याप्त समय भने नपाएको गुनासो गरे । एक अर्को प्रसंगमा थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवार मनोनयन असोज २ गतेको अघिल्लो दिनसम्म मात्र वर्तमान सांसदहरुको पदावधी रहने स्पष्ट गरे ।