काठमाडौं । दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् ।
नेपालीहरूको महानपर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरू रोकिएपछि व्यवसायीहरू चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न आग्रह गरेका हुन् । दुई देशबीच लामो समदेखि सौहार्दपूर्ण व्यापारिक सम्बन्ध रहेकोमा केही समयदेखि भने तातोपानी तथा केरुङ नाकामा केही समस्याहरू देखिएका छन् । यतिबेला आयातित सामाग्रीहरू चिनियाँ सीमानामा रोकिएको र निर्यात लामो समयदेखि ठप्प भएको घटनाले महासंघको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइको छ ।
चाडपर्व लक्षित सामान चिनियाँ नाकामा केही समयदेखि रोकिएको र समयमा सामान आइनपुग्दा सम्पूर्ण व्यवसायी धराशायी हुने खतरा बढेको महासंघले चिन्ता व्यक्त गरेको छ । विदेशीमुद्रा सञ्चितिमा भएको कमीका कारण सामान आयात गर्न पनि व्यवसायीहरूले निकै समस्या खेपिरहेका छन् ।
विविध समस्याका बावजुद चाडपर्व लक्षित सामाग्री अर्डर गरिए पनि सीमामा नै रोकिनु अत्यन्तै दुखद् भएको महासंघको ठहर छ ।