काठमाण्डू मोडेल अस्पतालमा मृतकको मोवाइल र नगद गायव

'सोधीखोजी गर्दा आफन्तमाथि उल्टै अभद्र व्यवहार'

काठमाडौँ– काठमाण्डू मोडेल अस्पतालमा ज्यान गुमाएका एक व्यक्तिको मोवाइल र नगदसहित पर्स हराएको छ । शनिबार दिउँसो काठमाडौँका सोनविक्रम खड्गीको उपचारका क्रममा मोडेल अस्पतालमा निधन भएको थियो । हृदयघातका कारण मोडेल अस्पतालको आकस्मिक कक्षमा ज्यान गुमाएका खड्गीकाे साथमा रहेको एक थान सामसुङ मोवाइल र नगद रु २५ हजार रहेको पर्स हराएको छोरा विजय खड्गीले जानकारी दिए ।

उनका अनुसार सोन विक्रमको स्वास्थ्यमा समस्या आएपछि शनिबार नै अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको दिउँसो साढे चार बजे मृत्यु भएको थियो । त्यत्ति बेला अस्पतालको आकस्मिक कक्षमा आफूहरु तीन जना (मृतककी श्रीमती र दुई छोरा) र चिकित्सकहरु मात्रै भएको विजयले बताए ।

‘बुबाको निधन हुँदा अस्पतालको आकस्मिक कक्षमा मम्मी र हामी दुईभाइ मात्र थियौं । अरु व्यक्तिलाई प्रवेश दिएको थिएन । बाबाको साथमा सामसुङ मोवाइल र २४ हजार रुपैयाँ थियो । तर उक्त सामान पछि हामीले पाएनौँ । त्यो त्यही बिचमा गायब भयो ।’ विजयले टिभी अन्नपूर्णसँग बताए ।

उक्त सामान अस्पताल प्रशासनले नै गायब पारेको परिवारको आरोप छ । अस्पतालसँग त्यसको सोधी खोजी गर्दा उल्टै अभद्र व्यहार गरेको विजयले गुनासो गरे । सिसि क्यामेरा हेर्नका लागि आफूहरुले अनुरोध गरेपनि अस्पतालले अस्वीकार गरेको उनको भनाइ छ ।

उनले भने ‘उक्त सामान सायद अस्पताल प्रशासनले नै गायब पारे । होइन भने हामीलाई सिसिटिभी हेर्न दिनुपर्ने । हामीले सिसिटिभी हेर्न खोज्दा पनि दिएन । उल्टै अभद्र व्यवहार गरियो । हामीले प्रहरीलाई समेत खबर गरेका थियौँ । प्रहरीले अनुसन्धान गर्ने बताएको छ ।’

यसबारे मोडेल अस्पतालले प्रतिक्रिया दिन अस्वीकार गरेको छ । अस्पतालका चिकित्सकहरुले घटनाको बारेमा आफूलाई कुनै जानकारी नभएको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार