सर्लाही– सर्लाहीको हरिवनमा शनिबार राति नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जना प्रहरीसहित ३ जना घाइते भएका छन् । हरिवन माछा बजारमा कौडी उठाउने विषयमा भएको विवादलाई राजनीतिक रंगदिंदा उनीहरुबीच झडप भएको हो ।
शनिबार दिउँसो हाटबजार लाग्दा माछा बजारमा कौडीबापत १ सय ५० रुपैयाँ उठाउनुपर्ने ठाउँमा ठेकेदारले २ सय रुपैयाँ उठाएको भन्दै त्यसैबाट विवाद सुरु भएको प्रहरीले जनाएको छ ।हरिवनको माछा बजार यसअघि एमालेका कार्यकर्ताले ठेक्का लिएकोमा अहिले माओवादी कार्यकर्ताले नयाँ ठेक्का लिएका छन् ।
झडपमा स्थानीय मनोज बैठा र नुरसबा खातुन घाइते भएका छन् । दुई पक्षबीच कुटाकुट हुँदा घाइते भएका उनीहरुको नमूना अस्पताल हरिवनमा उपचार चलिरहेको छ । त्यस्तै, झडपमा ढुंगा प्रहार हुँदा प्रहरी जवान कासिम मियाँ धोबी पनि घाइते भएका छन् ।
टाउकोमा चोट लागेर घाइते धोबी उपचार पश्चात डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।