राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान (भिडियो)

दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान गरेकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उपराष्ट्रपति नन्दकिशोर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका छन् । राष्ट्रपति भण्डारी आफ्ना बङ्गलादेशी समकक्षी मो. अब्दुल हमिदको औपचारिक निमन्त्रणामा दुई दिने भ्रमणका क्रममा बङ्गलादेश जान लागेकी हुन् ।

गणतन्त्र नेपालको राष्ट्रपति स्तरको पहिलो भ्रमण भएकाले बङ्गलादेशमा भव्य स्वागतको तयारी भएको बङ्गलादेशस्थित नेपालका राजदूत डा. वंशीधर मिश्रले जानकारी दिए । राष्ट्रपति भण्डारीलाई उहाँका समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नेछन् । विमानस्थलबाट राष्ट्रपति भण्डारी बङ्गलादेशको शहीद स्मृति पार्क जानेछिन् । त्यसपश्चात राष्ट्रपति भण्डारी दिनभरजसो नै बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी समारोह तथा स्वर्ण जयन्ती समारोहमा व्यस्त रहनेछिन् । सो क्रममा उनले नेपाल–बङ्गलादेश सम्बन्ध तथा बङ्गबन्धुको जन्मशताब्दीका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा नेपाली सांस्कृतिक समूहले बङ्गबन्धुको जन्मशताब्दी समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । उनले बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नेछिन् ।

सोही क्रममा समकक्षी हमिदसँग छुट्टै द्विपक्षीय भेटवार्तासँगै रात्रि भोजमा सरिक हुनेछिन् । मङ्गलबार राष्ट्रपति भण्डारीले बङ्गलादेशस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेका नेपालीसँग भेट गर्ने कार्यक्रम छ । सो अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत डा. मिश्रले आयोजना गर्ने दिवा भोजमा सरिक हुनेछिन् । दुई देशबीचको आयात–निर्यात र व्यापार असन्तुलन कम गर्न नेपालको स्थानीय उत्पादनलाई बङ्गलादेशको आयातमा थप्नका लागि बढावा दिने अपेक्षा गरिएको छ । त्यस्तै कृषि उपकरण, बीउ बिजन तथा मल नेपालमा सहज उपलब्ध गराउन बङ्गलादेशले भूमिका खेल्ने विश्वास गरिएको छ । राष्ट्रपति भण्डारी चैत १० गते नेपाल फर्किने कार्यक्रम छ  ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार