कर्मचारीहरूमा समानता हुनुपर्छ : मन्त्री कुँवर

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कर्मचारी, कर्मचारी बीचको विभेदलाई हटाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल सरकारी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री कुँवरले कर्मचारी कर्मचारी बीचको विभेदलाई हटाई सबै कर्मचारीहरूमा समानता हुनुपर्ने बताएका हुन् ।

अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूका तर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नो तर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको बताए ।

‘अस्थायी करार र ज्यालादारी कर्मचारीहरूका आफ्नै व्यथा छन् । सँगैका साथी काम गरेको छ, रिटायर्ड हुँदा पेन्सन बुझेर गएको छ, उसको सामाजिक सुरक्षाको ग्यारेन्टी भएको छ र केटाकेटीहरूको लालनपालन भएको छ । घरपरिवार सुरक्षित छन्’ उनले भने– ‘अर्को सँगैको साथी २० औं वर्षसम्म काम गरेको छ । अस्थायी छ । करारमा काम गरेको छ । तर, उसले जागिरबाट फर्कदा खेरी रित्तो हात फर्कनुपर्ने अवस्था छ । यो कर्मचारी कर्मचारी बीचको विभेदलाई हटाउनुपर्छ ।’

मन्त्री कुँवरले तीन वर्षअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गरेको बताउँदै त्यसमा अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरु समेटिनुपर्ने बताए । सामाजिक सुरक्षा कोषको दायरमा ल्याउनका लागि आफ्नो मन्त्रालयको पहलमा करिब ६० हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको तथ्याङ्क संकलन गरी अर्थ मन्त्रालयमा पठाइएको बताए । उनीहरूलाई कोषमा आबद्ध गराउनको लागि पहल भइरहेको मन्त्री कुँवरको भनाई थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार