पार्टी भित्र पद प्रतिष्ठाका निम्ति मात्र प्रतिस्पर्धा हुन्छ : प्रचण्ड
'फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई निर्देशन'
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र पदका लागि मात्रै प्रतिस्पर्धा भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गरे ।
उनले भने, ‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ।’
प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिए । देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।