प्रतिनिधिसभा विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकाल्दै राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो ।

राजनीतिक र कानुनी लडाइँ लड्नका लागि अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । त्यस्तै महतले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए । प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालिएको महतले बताए ।

बहुमतसहित विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई लत्याइएको भन्ने ठहर भएको उनको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार