आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी  । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आज श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ । कृष्णलीला कथा प्रवचन हुने गरेको छ । आजको कृष्ण चरित्र, सुन्ने, हेर्ने र श्रीकृष्ण लीलाहरुको अध्ययन गर्दा सकारात्मक सोच प्राप्त हुनेछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।  दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । आज कृष्ण मन्दिरमा मेला लाग्ने गर्छ ।

यस अवसरमा आज पाटनको मङ्गलबजार स्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भिड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भिड लाग्ने गरेको छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभा यात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार