संसद विघटनबारे आगामी रणनीति तय गर्न विपक्षीको संयुक्त बैठक बस्दै

ओलीविरुद्ध एकजुट भएर लड्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । शनिबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताए ।

बैठकमा राष्ट्रिय जनमोर्चामा पनि सहभागी हुनेछ । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्न लागेको भन्दै यो गठबन्धनले प्रतिवाद गर्ने चेतावनी दिएको छ । गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरहवादुर देउवालाई प्रधानमन्त्रीमा अघि सारिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सरकार गठनका लागि दाबी पेस गरेका थिए । तर राष्ट्रपतिले दुबैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषण गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकेकी छन् ।

प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै आगामी रणनीति बनाउन विपक्षी गठबन्धन बैठक बस्न लागेको खाणको भनाइ छ ।

उनले भने , ‘उहाँको कदमले संविधानलाई गम्भीर आघात पुर्याएको छ । संविधान र लोकतन्त्र रक्षाका लागि बैठकले अग्रसरता लिन्छ । त्यसका लागि हामी छलफल गर्दै छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार