जबराविरुद्धको महाअभियोगलाई छिटो निष्कर्षमा पुर्याउन एमालेको माग
'सत्तापक्षले चासो नदिनु गम्भीर विषय भएको तर्क'
काठमाण्डौ – नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्याउन माग गरेको छ ।
प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठकमा एमालेले सत्ताधारी दलका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएको ६ महिनाभन्दा लामो समय बितिसक्दा पनि प्रस्तावलाई टुङ्गोमा पुर्याउन ध्यान नदिएको भन्दै आपत्ति जनाएको हो ।
बैठकमा सांसद कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि सत्तापक्षले चासो नदिनु गम्भीर विषय भएको बताए। उनले महाभियोग दर्ता भएको सात दिनभित्र सदनमा ल्याउनुपर्ने, नभए १५ दिनभित्र सदन आह्वान गरेर प्रक्रिया थाल्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यसो हुन नसकेको बताए। जबराविरुद्धको महाअभियोग ठहर्नै पर्छ या ठहर्नै हुन्न भन्ने एमालेको एजेन्डा नरहेको र अनुसन्धानबाट नै टुङ्गो लगाउने पक्षमा रहेको सांसद पोखरेलको भनाइ छ ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश रणबहादुर बमविरुद्धका महाअभियोग प्रस्ताव प्रमाणित नभएको भन्दै सांसद पोखरेलले अहिले निकै चनाखो भएर र अध्ययन, अनुसन्धान गरेर प्रस्तावलाई टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए । गएको फागुनमा जबराविरुद्ध सत्ता पक्षका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।