पाल्पा । शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौंको फोहोर स्थायी रूपमा समाधानको बाटोमा गएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । काठमाडौं उपत्यकालाई सधै फोहोर बनाउने र झगडा गराउने एउटा शक्तिशाली गिरोह सक्रिय रहेको पनि उनले बताए ।
उक्त गिरोहले विभिन्न नाममा महानगरबाट वर्षेनी फोहोरको नाममा अरबौं रकम लैजाने गरेको उनको दावी छ । उक्त गिरोहसम्म सरकार पुगेकोले अब केही समयमै काठमाडौंको फोहोर स्थायी रूपमै समाधान हुने उनले बताए ।
कार्यक्रममा मन्त्री चौधरीले जनताले राम्रो माने पनि नमाने पनि अबको १० वर्षसम्म नेपालको राजनीतिमा दुई कित्तामा विभाजन भईरहने अवस्था रहेको बताए । २०७४ सालमा गठबन्धन गर्ने प्रमुख शक्ति एमाले भएको र अहिले नेपाली कांग्रेस भएको उनले बताए ।
अहिलेसम्मको अवस्था आउँदा पार्टीको सिद्धान्त विचार भन्दा पनि आ-आफ्नो अस्तित्व रक्षाका लागि गठबन्धन भईरहेको मन्त्री चौधरीले बताए। नेपाली नेताहरूको गलत संस्कार, गलत प्रवृत्ति र सक्षम नेतृत्वको अभावका कारण आज व्यवस्था परिवर्तन भएपनि शासन व्यवस्थामा सुधार नआएको मन्त्री चौधरीको भनाइ छ ।