सरकारले हालसम्म सपथग्रहण सम्बन्धी संघीय कानुन नभएकाले अध्यादेशमार्फत सपथको ढाँचा कानुनका रुपमा ल्याएको छ ।
राष्ट्रपतिबाट बिहीबार जारी भएको अध्यादेश बमोजिमको ढाँचा राजपत्रमा शुक्रबार प्रकाशित भएको छ । सरकारले जारी गरेको अध्यादेशमा सपथको ढाँचा समावेश गरिएको छ । प्रधानमन्त्रीले भन्न अस्वीकार गरेको ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द हटाएर सपथ लिन्छु भन्ने राखिएको छ ।
हालसम्म कानुन बिना नै सपथग्रहण भइरहेको र पछिल्लो पटक प्रधानमन्त्रीले सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरी सपथ लिन्छु मात्र भनेपछि विवाद भएको थियो ।
राष्ट्रपतिले दोहोर्याएर भन्दा प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेको प्रसंग चर्चित छ । प्रधानमन्त्रीको सपथ बदर गरी पुनः सपथग्रहण गराउन रिट परे पनि सर्वोच्च अदालतले अन्तरिम आदेश भने दिएन । त्यस्तै, अध्यादेशमा सरकारले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने विषय सपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ ।
यस्तै अध्यादेशमा सार्वजनिक पदधारण गर्ने व्यक्तिले सपथ लिँदा वा सपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको हो । यद्यपी आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर सपथ लिन सकिने अध्यादेशमा व्यवस्था छ ।