महाकाली नदीबाट १० मजदुरको उद्धार

कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापूमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए ।

यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापूमा बसेका तिनीहरूको सकुशल उद्धार गरेको हो । त्यसैगरी महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माणाधीन पहुँच मार्ग (६ लेनको सडक) निर्माणका लागि स्थापना गरिएको कालोपत्रे प्लान्टलगायतका सवारीसाधनलाई क्षति पु-याएको छ ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले पुलका कामदारको बिहीबार मध्यरातमा समेत उद्धार गरिएको बताए । “अझै कति मेसिन नदीले बगायो यकिन भएको छैन”, उनले भने, “नदीमा पानीको बहाव घट्ने क्रममा छ ।”

उनले वडा नं १३ मा सेनाले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्दै आएको स्थलमा समेत बाढी पसेकाले दाहसंस्कारमा समस्या भएको बताए । स्थानीय प्रशासनले शव व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गर्न त्यहाँ स्थलगत निरीक्षण गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार