नेपाली क्रिकेटका चुनौती : खेलाडी विवाददेखि व्यवस्थापनसम्म

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ। पूर्वप्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। उनकै नेतृत्वमा नेपाली क्रिकेट टोली केन्या भ्रमणमा जाँदैछ।

पूर्वप्रशिक्षक पुबुदुको प्रशिक्षणमा पछिल्लो पटक दुईवटा भ्रमण गरेको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। त्यसपछि विभिन्न समस्या देखाउँदै बाहिरिएका पुबुदुको ठाउँमा भित्रिएका प्रभाकरलाई नेपाली क्रिकेटमा रहेका चुनौतीको सामना गर्न त्यति सहज भने हुने छैन।

नेपाली क्रिकेटको सुधारका लागि प्रशिक्षक प्रभाकरले पार गर्नुपर्ने चुनौती के के छन् ?

पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षाअनुसार नतिजा निकाल्न सकेन। ४ खेलमध्ये १ खेलमा मात्र सुखद् नतिजा निकालेको नेपालले बाँकी ३ खेल गुमाएपछि कारणहरू केलाउन थालिएको छ।

मुख्यतः टोलीमा खेलाडीको एकता र ब्याटिङ समस्या बाहिर सतहमा देखिन थालेको छ। यससँगै एकदिवसीय मान्यता गुम्ने डर पनि त्यत्तिकै छ।

क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्धित गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए।

प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाइ प्राप्त गर्ने विश्वास राख्दै उनले भने, ‘पुबुदुलाई हामीले २ वर्षको सम्झौता गरेर ल्याएका थियौं। पारिवारिक कारणले उनले जानकारी दिए। रिक्त भएको पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं। उनलाई हाराहारी १४/१५ हजार डलर  दिने सहमति भएको छ। उनी अनुबन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाइ पाउने अपेक्षा राखेको छ। किनभने कुनै समय भारतका लागि प्रभाकर अब्बल खेलाडी थिए। पछिल्लो समय अफगानिस्तानलाई टेस्ट राष्ट्र बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो।’

प्रशिक्षक प्रभाकर शनिबार साँझ नेपाल आउँदै छन्। क्रिकेटका लागि कुनै पनि कन्जुस्याइँ नहुने अब्बल देश भारतका खेलाडी प्रभाकरलाई नेपालमा सीमित स्रोत र साधनलाई प्रयोग गरेर विश्व स्तरमा प्रतिष्पर्धा गर्न योग्य टोली बनाउनु पहिलो चुनौती रहेको छ।

अहिले टोलीमा नयाँ युवा खेलाडीको वर्चश्व रहेको छ। टोलीमा अनुभवी खेलाडी प्रायः शून्य छन्।

यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताए। उनले ब्याटिङमा सुधारलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए।

‘अहिले नेपाली टोली ब्यालेन्स टिम छ। युवा टोलीको वर्चश्व छ, जुन माथि चढ्ने क्रममा छ। नयाँ टोलीले जिम्मेवारी लिन चाहन्छ। सिनियर खेलाडीले विस्तारै विश्राम लिने अवस्था पनि छ‚’ पाठकले भने, ‘अहिले टोलीमा ब्याटिङको समस्या देखिएको छ। क्रिकेटको स्तर अघि बढाउनका लागि प्रशिक्षकसँग हामीले योजना माग्छौं। उहाँले ल्याएको योजनलाई हामी सम्बोधन गछौं।’

घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो २ वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट देखाएको छ।

नेपाल, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसिएटका शीर्ष टोलीका रुपमा लिइन्छ। तर लगानी र संरचनाको हिसाबमा नेपाल र ती देशबीच आकाश पातालको फरक छ।

तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भए पनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ। नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गरेको छ।

यसका अलावा प्रभाकरलाई पूर्वप्रशिक्षकले दर्शाएको टोली भित्रको गुटरउपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ। मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप पनि खेलाडीमाथि लाग्ने गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार