क्रिमिया विस्फोटमा रुसी नौसेनाका आठ विमान नष्ट

एजेन्सी । बेलायतको रक्षा मन्त्रालयले रुस नियन्त्रित क्रिमियामा भएको बम विस्फोटले रुसको नौसेनालाई ठूलो क्षति पुगेको दाबी गरेको छ ।

क्रिमियाको पश्चिममा रहेको साकी एयरबेसमा मंगलबार लगातार भएको विस्फोटमा रुसी नौसेनाको ठूलो क्षति भएको हो । विस्फोटमा एक जनाको मृत्युसमेत भएको छ ।

बेलायती रक्षा मन्त्रालयले आठवटा लडाकू विमान नष्ट भएको बताएको छ । यो घटनामा युक्रेनले भने अहिलेसम्म जिम्मेवारी लिएको छैन ।

तर मन्त्रालयले जारी गरेको स्याटेलाइट तस्वीरबाट भने त्यस क्षेत्रमा आक्रमण भएको संकेत देखिन्छ । मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङमा भनेको छ, ‘विस्फोटको कारणबारे अहिलेसम्म थाहा छैन, तर कम्तीमा पाँच फाइटर बम्बर्स र तीन मल्टिरोल जेट नष्ट भएका छन् ।’

यसले रुसी सेना र मस्कोलाई गम्भीर झड्का लागेको र उसको उड्ययन क्षमतामा एकदमै कम भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । रुसले भने आफ्नो कुनै पनि लडाकू विमानमा क्षति नपुगेको दाबी गरेको छ ।

यसैबीच, बेलायती रक्षा मन्त्रालयले क्रिमियामा रहेको साकी एयरबेसको स्यालेटाइट तस्वीर सार्वजनिक गरेको छ । ९ र १० अगस्टको भनेर जारी गरिएको तस्वीरमा एउटामा एयरबेस सामान्य देखिन्छ भने अर्कोमा क्षतिग्रस्त भएको देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार