लाइसेन्सका लागि आवेदन दिनेको सङ्ख्या बढेपछि थप गरियो कोटा

काठमाण्डौ – सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि आवेदन दिनेको चाप बढेपछि वाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले कोटा थप गरेको छ ।

आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै आजदेखि आवेदन दिन सकिने सङ्ख्या बढाइएको हो ।

मन्त्रालयले गएको असार २८ गते तोकिएको कोटामा १ हजार २ सय १५ जना थप गरी ३ हजार ६ सय ७५ पुर्याएको यातायातमन्त्री घनश्याम दाहालले जानकारी दिए । उनका अनुसार बिचौलियाले चलखेल गर्न नपाउन् भनेर दिउँसो साढे ४ बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ ।

यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार २ सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी आवेदन दिनसक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ छ ।

ललितपुरको एकान्तकुना, काठमाण्डौको ठूलो भर्याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौँडा कार्यालयमा दिउँसो साढे चार बजेदेखि लागू हुने गरी आवेदन सङ्ख्या बढाइएको हो । सेवाग्राहीले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ । वाग्मती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्याङ्कलाई दैनिकरूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार