अझै तीन महिनासम्म बजारमा केराउको अभाव हुने

पछिल्लो समय बजारमा केराउको अभाव बढ्दै गएको छ । थोकदेखि खुद्रा बजार सम्ममा यति बेला केराउ पाउन मुश्किल भइरहेको छ ।

कोरोना संकटका बेलामा नेपाली मुद्रा विदेशिन नदिन सरकारले गतवर्षको चैत १६ गते केराउ आयातमा रोक लगाएको थियो । त्यसयता आयातकर्ताहरूले केराउको आयात गर्न पाएका छैन जसको परिणाम स्वरूप यतिखेर बजारमा केराउको अभाव देखिन गएको हो ।

शक्ति दाल मिल वीरगञ्जका सञ्चालक ओमप्रकाश मोरले यति बेला बजारमा सेतो केराउको अभाव रहेको बताए । ‘नेपालमा अभाव बढेपछि हामीले भारतबाट आयात गर्न खोजेका थियौं । तर, भारतबाट पनि आयात गर्न नपाएपछि बजारमा केराउको अभाव चुलिएको हो,’ उनले भने । गतवर्षको चैतमा सरकारले गरेको निर्णयपश्चात् नेपालमा औपचारिक रूपमा केराउ भित्रिएको छैन ।

पछि सरकारले त्यस बेला बीच बाटोमा अलपत्र केराउ आयात गर्न दिएको थियो । त्यही केराउले अहिलेसम्म बजार धानेको हो । तर, अहिले उक्त केराउको मौज्दात सकिएपछि अभाव देखिन गएको बताइएको छ ।

गत फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले केराउसँगै मरीच, सुपारी र छोकडा आयातमा १ वर्षदेखि लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएसँगै व्यापारीहरूले केराउ आयात गर्न पाउने भएका छन् । यद्यपि विदेशबाट आयात गर्दा आयात प्रक्रिया लामो हुने भएकाले नेपालमा अबको करीब ३ महिनासम्म केराउको अभाव रहिरहने मोरको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार