एन्फा कार्यसमितिको बैठक भोलि बस्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ ।

यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो ।

पछिल्लो समय पदाधिकारी भागबण्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका नेम्वाङ आफ्नो चुनावी अभियानमा सहयोग गरेका साथीहरूलाई खुसी राख्न असफल भएका छन् ।

चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाण्डेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज चेपुवामा परेका छन् । पाण्डेबाट बढी दबाब खेप्दै आएपछि नेम्वाङले थापा समूहलाई बेवास्ता गर्दै आएका छन् । पाण्डे एन्फा राजनीतिमा हावी भएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाण्डेको बर्खास्तीको माग गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार