काठमाडौंमा बाढी : तीन सय जनाको उद्धार, दर्जनौं बस्तीमा डुबानमा

'आज पनि देशभर पानी पर्ने सम्भावना, सावधानी अपनाउन अनुराेध '

काठमाडौँ– काठमाडौंमा गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।

काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको छ ।

यस्तै बाढीले काठमाडौं उपत्यकाका दर्जनौँ ठाउँमा क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको जानकारी छैन । तर, बाढीले ठूलो मात्रामा पशुचौपाया, लत्ताकपडा, खाद्यान्नका सामाग्री बगाएको छ भने भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ ।

प्रहरीले डुबानमा परेका र सम्भावित जोखिममा रहेका करिब साढे तीन सय जनालाई प्रहरीले मंगलबार राति उद्धार गरेको छ । जडीबुटी क्षेत्रको सुकुम्बासी बस्तीका तीन सय जनालाई उद्धार गरी कोटेश्वर बहुमुखी क्याम्पसमा राखिएको छ ।

त्यस्तै, शंखरापुर नगरपालिका–६ र ९ तथा कागेश्वरी मनोहरा नगरपाकिा–४ बाट १७ जनालाई उद्धार गरिएको छ । महादेव खोलामा आएको बाढीले विद्युत्‌‌का पोलमा क्षति पुर्‍याएका कारण यहाँ विद्युत अवरुद्ध छ ।

त्यस्तै, पेप्सीकोला क्षेत्रबाट १५ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको प्रहरीले जनाएको छ । यस्तै आज पनि प्रदेश १,बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले सर्तकर्ता अपनाउन अनुरोध गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार