फोहोर व्यवस्थापन रोक्न नयाँ–नयाँ चलखेल गरिँदैछ : मेयर बालेन

'फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध'

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले फोहोर व्यवस्थापन रोक्न चलखेल भइरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महानगर प्रमुख शाहले फोहोर व्यवस्थापन रोक्न नयाँ–नयाँ चलखेल भइरहेको बताएका हुन् ।बञ्चरेडाँडामा फोहोर बोकेर पुगेका डेढ दर्जन गाडीमा गएराति तोडफोड भएको थियो।

‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ। यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो। वर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरुपमा नयाँ-नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ। यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ। फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध भन्दै कानुन बमोजिम अपराधीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने बताएका छन् ।

उनले लेखेका छन्,‘तोडफोड गर्नेहरुबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउनु पर्छ। यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ। केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन। विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार