दुबई हिडेकी हमिदा बानु २० वर्षपछि पाकिस्तानमा फेला परिन्

बीस वर्षदेखि हराइरहेकी एक भारतीय महिला सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओको सहयोगमा पाकिस्तानमा भएको पत्ता लागेको छ।

एक दलालले दुबईमा भान्सेको काम लगाइदिने आश्वासन दिएपछि सन् २००२ मा हमिदा बानु भारतबाट हिँडेकी थिइन्। तर आफूलाई झुक्याएर पाकिस्तान तस्करी गरिएको उनी बताउँछिन्।

भारतको मुम्बईमा बस्ने बानुको परिवारले दुई दशकसम्म उनको खोजी गरिएको बीबीसी मराठीसँग बताए। अन्ततः भारत र पाकिस्तानमा रहेका दुई व्यक्तिको सहयोगमा बानु फेला परिन्।

यी दुई छिमेकी देशको सम्बन्ध तनावपूर्ण छ। त्यसैले भारतीय र पाकिस्तानी नागरिकहरूलाई सीमा पार गर्न प्रायः कठिन हुन्छ। झन् आर्थिक स्रोत र ज्ञानको अभावका कारण बानु वर्षौँ पाकिस्तानमै अल्झिइन्। तर वर्षौँसम्म पनि आफ्ना छोराछोरीलाई भेट्ने उनको इच्छा भने कहिल्यै कम भएन। अनि यो वर्ष जुलाई महिनामा सामाजिक सञ्जालमा सक्रिय अभियानकर्मी वलिउल्लाह मारूफले बानुसँग अन्तर्वार्ता लिए र त्यो भिडिओ अनलाइनमा राखिदिए।

मुम्बईस्थित पत्रकार खलफान शेखले उक्त भिडिओ आफ्नो सामाजिक सञ्जालमार्फत् साझा गरेपछि त्यो अन्ततः बानुको परिवारसम्म पुग्यो।यी दुई व्यक्तिहरू मिलेर बानु र उनकी छोरी यास्मिन शेखबीच भिडिओ संवाद गराए। ‘तिमीलाई कस्तो छरु मलाई चिन्यौ ? यतिका वर्ष तिमी कहाँ थियौर ?’ भावुक संवादका क्रममा यास्मिनले धेरै प्रश्न सोधिन्।

‘म कहाँ थिएँ र कस्तो अवस्थामा थिएँ त्यो नसोध। मैले तिमीहरू सबैलाई निकै सम्झिएँ। म यहाँ रहरले बसेकी हैन, मसँग कुनै विकल्प नै थिएन,’ बानुले उत्तर दिइन्।
पतिको मृत्यु भएपछि आफ्ना चार सन्तानको जिम्मेवारी आफूले सम्हालेको बानुले मारूफसँगको अन्तर्वार्तामा बताएकी छन्। यसअघि कतार, दुबई र साउदी अरबमा आफूले कुनै समस्याबिना कुकको काम गरेको उनी बताउँछिन्।

सन् २००२ मा उनले जागिर लगाइदिने एक व्यक्तिलाई दुबईमा काम मिलाइदिन आग्रह गरिन्। ती महिलाले उनीसँग २०,००० भारतीय रुपैयाँ मागिन्। बानुले भिडिओमार्फत् बताएअनुसार उनलाई दुबईको साटो पाकिस्तानको हैदराबाद पुर्‍याइयो।

त्यहाँ आफूलाई तीन महिनासम्म बन्दी बनाइएको उनको दाबी छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार