अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो फ्लोरिडास्थित निवासमा एफबीआईले छापा मारेको बताएका छन् ।ट्रम्पले आफ्नो बयानमा ठूलो संख्यामा एफबीआई एजेन्टहरूले पाम बीचमा रहेको उनको घर मार–ए–लागोलाई नियन्त्रणमा लिएका छन् ।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजको रिपोर्ट अनुसार एफबीआईको यो छापा ट्रम्पले राष्ट्रपति हुँदा सरकारी कागजातहरू कसरी ह्यान्डल गरे भन्ने अनुसन्धानसँग सम्बन्धित छ ।
ट्रम्पले गत वर्ष अमेरिकी क्यापिटलमा भएको हिंसाको संसदीय छानबिनको पनि सामना गरिरहेका छन् ।
सीएनएनको रिपोर्टका अनुसार सोमबार एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्व अमेरिकी राष्ट्रपति न्युयोर्कको ट्रम्प टावरमा थिए ।ट्रम्पले आफ्नो वक्तव्यको सुरुमै यो आफ्नो देशका लागि कठिन समय भएको बताएका छन् ।
ट्रम्पले भने, ‘मैले आवश्यक सबै सरकारी निकायसँग अनुसन्धानमा सहयोग गरेको छु । यस्तो अवस्थामा मेरो घरमा अघोषित छापा मार्नुको कुनै अर्थ थिएन । यो छापामा एक प्रक्रियागत त्रुटि छ । मैले २०२४ को राष्ट्रपतिको चुनाव लड्न नपाओस् भनेर न्यायपालिकालाई आफ्नै तरिकाले प्रभावित गरिरहेको छ ।’
ट्रम्पले भने, ‘यस्तो कारबाहीले अमेरिका तेस्रो विश्वको देश बन्न सक्छ । अमेरिका भ्रष्ट मुलुक जस्तै भएकोमा दुःख लागेको छ । अमेरिकाको यस्तो छवि पहिले कहिल्यै थिएन ।’
सीबीएस न्युजले मार–ए–लागोमा एफबीआईको छापा अमेरिकाको नेशनल आर्काइभ्स रेकर्डको मर्मतसम्भारसँग जोडिएका अनुसन्धानसँग सम्बन्धित रहेको बताएको छ ।