संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न माग

नेकपा माओवादी केन्द्रका राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् ।

 

संवैधानिक परिषदसम्बन्धी विधेयक सभामा छलफल भईरहेको उल्लेख गर्दै उनले त्यसमा सो व्यवस्था गर्न सबै सांसदहरुको ध्यानाकर्षण समेत गराइन् ।

उनले भनिन्, ‘संवैधानिक परिषदमा संविधान नै संशोधन गरेर भएपनि सात सदस्य हुने व्यवस्था गर्न म माग गर्दछु । प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षको नेता, उपसभामुख रहने व्यवस्था छ । यसमा राष्ट्रियसभाको उपाध्यक्ष राखेर सात जनाको व्यवस्था गरियोस् भन्ने म माग गर्न चाहन्छु । यतिबेला संवैधानिक परिषद विधेयक हाम्रो हातमा छ । हामी संशोधनको तयारीमा छौं । पास गर्ने तयारीमा छौं । म सबै माननीयज्यूहरुको यसमा ध्यान जाओस् भन्ने कुरा राख्न चाहन्छु । यो सात जनाको बनाइयोस्, जसबाट बहुमत ४ जनाको हुन्छ । चार जनाको कोरम पुगेपछि निर्णय गर्दाखेरी एउटा सम्मानजनक अवस्थामा हामीले देशका संवैधानिक अंगहरूमा त्यो नियुक्त गर्न सक्छौं भन्ने कुरा म यहाँ राख्न चाहन्छु ।’

सांसद बेल्बासेले संवैधानिक परिषदलाई आफ्नो काम सहज ढंगले अघि बढाउन पनि सात सदस्यीय बनाउन उपयुक्त हुने दावी गरिन् ।

सम्बन्धित समाचार