काठमाडाैँ- न्याय परिषद्को बर्खास्तीमा परेकी उच्च अदालतकी पूर्व न्यायाधीश रेणुका शाहले पुनर्बहालीका लागि दायर रिट सोमबार पनि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको छ । आइतबार सुनुवाइ नभएको उक्त मुद्दा सोमबार पनि न्यायाधीश सुवेदीको एकल इजलासमै परेको हो ।
गत असार २४ गते न्याय परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शाहलाई बर्खास्त गरेका थिए । परिषद्ले शाहलाई बर्खास्त गर्दा नियुक्ति लिने समयमा आफ्नो अयोग्यता लुकाएको आरोप लगाएको छ ।
न्याय परिषद्ले बर्खास्तीका लागि सिफारिस गर्दा शाहले निरन्तर १० वर्षसम्म वकालत गरेको नपाइएको र उच्च अदालतमा न्यायाधीश बन्ने तीन दिन अगाडि सम्म पनि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा जागिर खाइरहेको पाइएको बताएको छ ।