यो सरकार स्वार्थका लागि बनेको हो : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान पाँच दलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको बताएका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सरकार लामो समयसम्म रहँदा देशलाई श्रीलंकाको बाटोतर्फ लैजाने चिन्ता प्रकट गरेका हुन्।

‘यो सरकार स्वार्थका लागि मात्र बनेको हो, यो सरकार बन्दै गर्दा मुलुकको आर्थिक अवस्था वचतमा रहेको तर अहिले खर्बौ ऋणमा पुगेको छ। महंगी दोब्बरभन्दा बढी बृद्धि भएको छ । पूँजीगत खर्च लज्जास्पद छ । जसले गर्दा मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको छ’ उनले भने, ‘बजेट निर्माणका क्रममा जे जस्ता हर्कत भएका कुराहरू बाहिर आए, त्यो एकप्रकारको राष्ट्रघात हो । यसले माफियातन्त्रलाई अझ भनौं दलाल नोकरशाही पुँजीवादलाई प्रश्रय गरेको देखिन्छ ।’

दुनियाँमा कहीँ पनि गठबन्धनले समृद्धि ल्याएको छैन भन्दै उनले विकासको लागि नीतिगत नेतृत्व चाहिने बताए।

‘वर्तमान सरकारका हरेक गतिविधि नेपाली जनताको लागि अभिशाप बनेका छन्, यसलाई जतिसक्दो चाँडो हटाउनुपर्छ । निर्वाचनको मिति घोषणा भएको छ, निर्वाचनबाटै जनताले छिनोफानो गर्छन्।’

चुनावको मिति घोषणा भएपछि संसदको भूमिका निष्कृय हुने भए पनि सङ्कटको बेला काम लाग्छ भनेर जोगाएर राखेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार