सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको कार्यदल बैठक बस्दै

'काँग्रेसले धेरै सिट दाबी गरेपछि माओवादी र एस असन्तुष्ट'

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै छ ।

सिट बाँडफाँटका लागि गठन गरिएको गठबन्धनको कार्यदलको पहिलो बैठक बस्न लागेको हो । सीट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुईरदुई जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्ण प्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्र बहादुर कार्की रहेका छन्। यस्तै, नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् । जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

उक्त कार्यदलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।गठबन्धनले यसअघि सिट संख्या बाँडफाँट मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार