काठमाडौँ– नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयकलाई अघि नबढाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अनुरोध गरेका छन्।आज शीतलनिवासमा अनुरोध पत्रसहित राष्ट्रपतिलाई भेट्न पुगेका नागरिक समाजका अगुवाहरुले नागरिकता विधेयक फिर्ता पठाउन आग्रह गरेका हुन् ।
उक्त विधेयक देशका लागि हितकर नभएको उनीहरुको दाबी छ । राष्ट्रपतिलाई भेट्न पुगेका नागरिक अगुवाहरु अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय, अधिवक्ता सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकारद्वय ध्रुवहरी अधिकारी , आदित्यमान श्रेष्ठ, बुद्धिजीवी राजेश अहिराज, द्वारिकानाथ ढुंगेल, अनिल योगी, प्रेम सिंह बस्नेत लगायतका एक दर्जनले पुगेर ज्ञापन पत्र बुझाएका हुन्।
राजेश अहिराजले थाहाखबर सँग कुरा गर्दै अंगिकृतलाई राजनीतिक अधिकार दिन नहुने र बाबुआमा पत्ता नलागेकालाई पनि वंशज नागरिकता दिनु नहुने र गलत ढंगले नागरिकता लिनेलाई भन्दा नागरिकता दिने अधिकारीलाई दोब्बर सजाय हुनु पर्ने सुझाव आफूले दिएको बताए।
उनीहरुले नागरिकता विधेयक राष्ट्रका लागि घातक सावित हुने भन्दै यसलाई रोकेर पुनर्विचारका लागि संसदमै पठाउन सुझाव दिएका छन्।