भाद्र २ गतेदेखि अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला

महिला उद्यमी महासंघले छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२ को आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मलेन मार्फत संघले उक्त कार्यक्रमको आयोजना गरिने जनाएको हो ।

संघले छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०२२ भाद्र २ गतेदेखि ६ गतेसम्म हेरिटेज गार्डेन सानेपामा गर्न लागेको हो । यस व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी देखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय मुलुकका उद्यमी महिला र देश भित्रका विभिन्न जिल्ला संघका महिला उद्यमीहरुको सहभागिता रहने महासंघकी अध्यक्ष निरु रायमाझीले क्षत्रीले जानकारी दिइन् ।

मेलाको साथसाथै, महासंघले शुक्रबार, १९ अगस्ट २०२२ मा हुने “विल्डिङ अ सस्टेनेबल विजनेश टु इम्पावर वेमेन” शीर्षकको एकदिवसीय गोष्ठी आयोजना गर्ने जनाएको छ ।

उक्त गोष्ठीमा डिजिटल वित्तीय साक्षरता र इकमर्स प्लेटफर्महरू र व्यापार अवसरहरू पहिचान गर्न व्यावहारिक कार्यशालाहरू पनि महासंघकी प्रथम उपाध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन् ।

उक्त मेलामा हस्तकलाका सामानहरु जस्तै प्राकृतिक रेशाजन्य वस्तु ढाका तथा घरबुनाका सामान हाते कागजका वस्तुहरु, जैविक खाद्य पर्दाथ स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु कृषिजन्य उत्पादनहरु, पुष्प सामाग्रीहरु, जडिबुटीहरु, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रदर्शनीमा राखिने महासंघले जनाएको छ ।

साे मेलामा जिल्ला राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला उद्यमीहरुका ५०६ वटा उत्पादनहरुको स्टलहरु रहनेछन । स्वदेशका महिला उद्यमी लगायत भारत, पाकिस्तान, बंगलादेश आदिका महिला उद्यमीहरुका उत्कृष्ट उत्पादनहरु पनि किन्ने र अवलोकन गर्ने महासंघकी प्रथम उपाध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।

उक्त मेलामा विभिन्न जिल्लाबाट सहभागी महिला उद्यमीहरुलाई प्रोत्साहन स्वरुप विभिन्न विद्यामा उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिने समेत उनले जानकारी दिइन् ।

महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरुका प्रदर्शनी, प्रवर्द्धन, बजारीकरण र विक्रिका लागि एक साझा स्थल श्रृजना गर्ने, अनलाइन बजारीकरणको प्रयोगलाई उत्पादनलाई प्रर्वद्धन गर्ने प्रोत्साहन गर्दै अन्तराष्ट्रिय बजारसम्म स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, विश्वभरिका उद्यमी महिलाहरुका विचमा सञ्जाल तथा सम्पर्क र समन्वयलाई प्रोत्साहन गर्ने मेलाका उद्देश्यहरु रहेका छन् ।

उक्त कार्यक्रमको उद्धघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासंघकी अध्यक्ष निरु रायमाझीले क्षत्रीले जानकारी दिइन् ।महिला उद्यमी महासंघले विगत ५ वर्ष देखि सफलतापुर्वक अन्तर्राष्ट्रिय महिला व्यापार मेला आयोजना गर्दै आईरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार