चुनाव घोषणासँगै सरकार कामचलाउ भइसक्याे- प्रदीप ज्ञवाली
'अर्थमन्त्रीमाथि छानविन गर्न बनेको समितिले पूर्ण रुपले काम गर्न नपाएको गुनासो'
काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणासँगै सरकार कामचलाउ भएको बताएको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ढिलै भएपनि चुनावको मिति घोषणा गरेकोमा धन्यवाद दिए । चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ? भन्दै प्रश्न समेत गरे ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्ने निर्णय गत बिहीबार गरेको थियो ।
साथै ज्ञवालीले अर्थमन्त्रीमाथि छानविन गर्न बनेको समितिले पूर्ण रुपले काम गर्न नपाएको आरोप लगाउँदै अपुरो प्रतिवेदन आएका कारण अर्थमन्त्रालयमा कर्मचारी नगएको आरोप लगाए ।
उनले भने– ‘ कानुनी उन्मुक्ति र नैतिक उन्मुक्ति फरक कुरा हो । मैले अहिले ढाका टोपी लगाइरहेको छु । कानुनले कहीँ पनि ढाका टोपी उल्टो लगाउनुहुँदैन भनेर भनेको छैन । मैले ढाका टोपी उल्टो लगाएँ भने पनि प्रहरीले मलाई कारवाही गर्न मिल्दैन । तर सार्वजनिक नैतिक रुपमा मैले टोपी सुल्टो नै लगाउनुपर्छ ।’
यस्तै उनले भारतीय आयल निगमले २ पटक ३१ रुपैयाँ मूल्य घटाउँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको उल्लेख गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरे ।